
२९ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षभित्र सम्पन्न हुन बाँकी रहेका विकास निर्माणका कामहरू तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ। साथै नगरभित्र नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री–वितरण कार्य तत्काल बन्द गर्न समेत निर्देशन दिएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार विभिन्न योजनाअन्तर्गत ठेक्का सम्झौता भई सञ्चालनमा रहेका कतिपय निर्माण कार्यमा अपेक्षित प्रगति नदेखिएको भन्दै आर्थिक वर्ष २०८२/८३ भित्रै कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीहरूलाई सचेत गराइएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक तथा विशेष योजनाका कार्यक्रम आगामी आर्थिक वर्षमा निरन्तर नहुन सक्ने र पालिकाले थप आर्थिक दायित्व वहन गर्न नसक्ने अवस्था रहेको जनाउँदै कार्यतालिका र प्रतिबद्धताअनुसार समयमै काम सम्पन्न गर्न आग्रह गरिएको छ। अन्यथा निर्माण कार्य सम्पन्न गर्न लाग्ने थप खर्चसमेत निर्माण व्यवसायीबाट असुल गरिने चेतावनी नगरपालिकाले दिएको छ।

यसैबीच नगरपालिकाले अर्को सूचना जारी गर्दै नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) को उत्खनन, संकलन तथा बिक्री–वितरण कार्य बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि नदीजन्य पदार्थ उत्खननको ठेक्का सम्झौताको म्याद जेठ मसान्तमा समाप्त हुने भएकाले असार १ गतेदेखि नयाँ व्यवस्था नहुँदासम्म यस्ता गतिविधि सञ्चालन गर्न नपाइने कानुनी प्रावधान रहेको छ।

नगरपालिकाले असार १ गतेपछि नगर क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य नगर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। सूचनाको उल्लङ्घन गरी कानुनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित यी सूचनामार्फत विकास निर्माणका कामलाई समयमै सम्पन्न गराउन र प्राकृतिक स्रोतको कानुनी तथा व्यवस्थित उपयोग सुनिश्चित गर्न नगरपालिकाले कडाइका साथ अनुगमन गर्ने जनाएको छ।



































